संविधान संशोधनलाई लिएर जसपामा विवाद
संविधान संशोधनलाई लिएर समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी स्पष्ट देखिनेगरी शुक्रबार विधेयक दर्ता गर्ने क्रममा सो सतहमा देखिएको हो। शुक्रबार विधेयक दर्ता गर्न जाने क्रममा संसद सचिवालय सिंहदरबारमा महन्थ ठाकुर,राजेन्द्र महतो, सरदसिंह भण्डारी, महेन्द्र राय यादव, लक्ष्मणलाल कर्णलगायतका नेता सहभागी भएका थिए। तर, विधेयक दर्ता गर्नेक्रममा पार्टीमा एक मत हुन नसकेपछि समाजवादी समूहबाट शीर्ष नेताहरू कोही सहभागी भएनन्।
विधेयक दर्ता गर्ने क्रममा सिंहदरबार पुगेका उपेन्द्र यादव निकट सांसदलाई समेत फकाईएको थियो। शुक्रबार संसद सचिवालयका कर्मचारीले विधेयक दर्ता गर्न अनेक बाहना गरेपछि दर्ता नगरी फर्किएको जसपाका एक नेताले बताए। ‘संसद सचिवालयका कर्मचारीले कहिले विधेयकको फर्म्याट मिलेन भन्नुभयो‚ कहिले सभामुखसँग परामर्श गरेरमात्रै दर्ता गरौं भन्नुभयो।’ एक नेताले भने, ‘अन्तमा आइतबार कार्यालय समयमा विधेयक दर्ता गरौंला भनेर संसद सचिवालयबाट फर्कियौं।’
संविधान संशोधनमा जसपामा आज पनि कुरा मिलेन
संविधान संशोधनमा एक मत बनाउन शनिबार बेलुका ४ बजे जसपाको बैठक पूर्व राजपा केन्द्रीय कार्यालय बबरमहलमा बसेको थियो। बैठकमा समाजवादी समूहबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ थिए भने राजपा समूहबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव‚ सरदसिंह भण्डारीलगायतका नेताहरू सहभागी थिए।
बैठकमा समाजवादी पार्टीले राष्ट्रियताको सवालमा सरकारले संशोधनका लागि पेश गरेको संविधानको धारा ९ मा चर्चा गरिएको निशान छाप अनुसूची ३ लाई संशोधन गरेर जानुपर्ने तर्क राखेको थियो। यदि त्यसमा सहमत नभए प्याकेजमा सहमति गरी आदिवासी‚ जनजातिलगायत सम्पूर्ण मुद्दालाई सम्बोधन गर्नेगरी निर्वाचन प्रणाली, शासकीय स्वरुपअन्तर्गत प्रत्यक्ष निर्वाचन प्रणालीलगायतका मुद्दालाई अघि सारेर संशोधन गर्नुपर्ने माग राखेको जसपाका नेता नवराज सुवेलीले बताए।
तर राजपा समूहले प्याकेजमा सहमति गरेर भाषा, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्वलगायतका मुद्दालाई मात्रै संशोधन गर्नुपर्ने मत राखेपछि सहमति हुन नसकेको एक नेताले बताए। कुन कुन एजेण्डा कसरी संशोधन गरेर जाने भन्ने विषयमा सहमति हुन नसकेपछि शनिबारको बैठक बिनानिष्कर्ष टुंगिएको हो। आइतबार पुनः जसपाका शीर्ष नेताहरूले बैठक गरेर एजेण्डा तय गरी विधेयक संसद सचिवलायमा दर्ता गर्ने तयारी गरेका छन्।
Reviewed by Bcas
on
7:06 PM
Rating:

No comments:
What do you think about this article? Comment in the comment box.
Janakpur News